काठमाडौं । विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन तथा पुनः प्रकाशन–प्रसारण नगर्न जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति नेपालका प्रमुख पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाएका छन्।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन तथा अनलाइन पत्रकार संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र स्वतन्त्र पत्रकारितामाथि प्रतिकूल असर पार्न सक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघले बिजनेसन्युज डटकममा प्रकाशित समाचार सामग्री हटाउन तथा थप सम्प्रेषण रोक्न अदालतले दिएको आदेश पत्रकार आचारसंहिता–२०७३ को अनलाइन माध्यमबाट प्रकाशित सामग्री सकेसम्म नहटाउनुपर्ने व्यवस्थासँग मेल नखाने जनाएको छ। महासंघले समाचारको सत्यता परीक्षण नै नगरी हटाउन आदेश दिनु स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको दाबी गरेको छ। साथै, यसबाट प्रमाण नष्ट हुने जोखिम समेत बढ्न सक्ने उल्लेख गरेको छ।
यस्तै, नेपाल प्रेस युनियनले विचाराधीन मुद्दाको अन्तिम टुंगो नलाग्दै समाचार हटाउन आदेश दिनु न्यायिक प्रक्रियाका आधारभूत मान्यताविपरीत भएको टिप्पणी गरेको छ। समाचारप्रति असहमति भए खण्डन, स्पष्टीकरण वा कानुनी उपचारका अन्य माध्यम अपनाउन सकिने लोकतान्त्रिक अभ्यास रहेको युनियनको भनाइ छ।
अनलाइन पत्रकार संघले पनि अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै यसलाई ‘प्रमाण नष्ट गर्ने प्रकृतिको आदेश’ भनेको छ। संघले उक्त आदेशले पत्रकार आचारसंहिताको मर्ममाथि असर पुर्याएको दाबी गर्दै यस्ता प्रकृतिका विगतका आदेशहरू अन्ततः खारेज भएका नजिरहरू समेत स्मरण गराएको छ।
तीनवटै संस्थाले न्यायालयप्रति सम्मान व्यक्त गर्दै अन्तिम फैसलाको पालना गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संविधान र कानुनको परिधिभित्र रहेर प्रेस स्वतन्त्रताको संरक्षण गरिनुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।







