काठमाडौं । गृहमन्त्रीसँग निकट रहेको भन्दै विभिन्न प्रहरी अधिकारीमाथि दबाब दिई बिचौलियागिरी गरेको आरोपमा पक्राउ परेका आदित्य सिंहको उच्च प्रहरी अधिकारीसँग समेत निकट सम्बन्ध रहेको खुलेको छ।
प्रहरी स्रोतका अनुसार सिंहले आफू गृह मन्त्रालयको अधिकारी तथा गृहमन्त्रीको निकट व्यक्ति भएको परिचय दिँदै विभिन्न प्रहरी कार्यालयमा प्रभाव पार्ने प्रयास गरेका थिए। उनले काठमाडौंका प्रहरी अधिकारीलाई धम्क्याउनेदेखि प्रहरी कर्मचारीमाथि कारबाही गराउन दबाब दिने कामसमेत गरेको आरोप छ।
सिंहको सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीअनुसार उनको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीसँग पनि निकटता देखिन्छ। फेसबुकमा सार्वजनिक एक भिडियोमा एआईजी कार्की कार्यालयबाट बाहिरिँदै गर्दा सिंहसँग कुराकानी गर्दै हिँडिरहेको दृश्य देखिन्छ।
स्रोतका अनुसार सिंहले आफू ‘जेनजी अभियन्ता’ तथा गृहमन्त्री निकट भएको दाबी गर्दै विभिन्न स्थानमा बिचौलियाको भूमिका निर्वाह गरेका थिए। कोटेश्वर प्रहरी प्रभागमा पुगेका उनले सोही परिचय दिँदै आफूलाई सहयोग नगरेको भन्दै एक प्रहरी कर्मचारीलाई तत्काल जागिरबाट हटाउन एसएसपी दिलीप घिमिरे र एसपी पवन भट्टराईमाथि दबाब दिएका थिए।
पछि गृह मन्त्रालयमा बुझ्दा सिंह मन्त्रालय वा गृहमन्त्रीको टोलीसँग कुनै औपचारिक सम्बन्ध नरहेको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनले यसअघि तराईका विभिन्न जिल्लामा पनि यस्तै शैली अपनाउँदै प्रहरी तथा प्रशासनिक निकायमाथि दबाब सिर्जना गरी व्यक्तिगत फाइदा लिएको प्रारम्भिक तथ्य फेला परेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







