काठमाडौँ । रुकुम पश्चिममा बेकरी डेलिभरी गर्ने युवकमाथि दुर्व्यवहार गरिएको भन्दै भाइरल बनेको ‘प्र्याङ्क’ भिडियो प्रकरणमा पीडितकै मिलेमतो रहेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी बेद पौडेलका अनुसार भिडियो बनाउने दुई युवकले पीडितसँगको सहमतिमै भिडियो तयार पारेको बयान दिएपछि अनुसन्धानका क्रममा पीडितलाई समेत पक्राउ गरिएको हो। घटनामा संलग्न तीनै जनाविरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटना असार २२ गते रुकुम पश्चिमको माच्छिमी क्षेत्रमा भएको थियो। सल्लेबाट सामान डेलिभरी गरी खलङ्गातर्फ फर्किरहेका कपिलवस्तु नगरपालिका–४ सिरसवा निवासी ३१ वर्षीय रगुविर कोरीलाई खलङ्गाबाट बाफिकोट जाँदै गरेका दुई युवकले भेटेर भिडियो बनाएका थिए। भिडियोमा मधेसी समुदायप्रति लक्षित साम्प्रदायिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति प्रयोग गरिएको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा बाफिकोट गाउँपालिका–३ डार्नेका २८ वर्षीय डिल्लीबहादुर ओली र ३१ वर्षीय राजन केसी रहेका छन्। अनुसन्धानका क्रममा पीडित रगुविर कोरीको पनि घटनामा सहमति रहेको देखिएपछि उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भिडियो तयार भएपछि डिल्लीबहादुर ओली र राजन केसीले उक्त भिडियो विदेशमा रहेका जीवन ओलीलाई पठाएका थिए। सोही भिडियो जीवन ओलीले ‘Follow Nepal Times’ नामक इन्स्टाग्राम अकाउन्टमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरेको अनुसन्धानबाट खुलेको छ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि गृहमन्त्रीले घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।








