काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी लुम्बिनी प्रदेशस्तरमा वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा सम्मानित भएका छन्।


लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३’ का अवसरमा एसपी जिसीलाई ‘बेस्ट इन्भेस्टिकेसन सोकेस’ अन्तर्गत उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेबापत सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयले यस वर्ष पहिलो पटक सञ्चालन गरेको ‘बेस्ट इन्भेस्टिकेसन सोकेस’ कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूले आफ्नो जिल्लामा सम्पन्न भएका उत्कृष्ट अनुसन्धानका विवरण प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धात्मक मूल्यांकनपछि बाँकेका एसपी जिसीले प्रस्तुत गरेको अनुसन्धान सबैभन्दा उत्कृष्ट ठहरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा छनोट भएपछि उनलाई पुरस्कारसहित सम्मान गरिएको पनि कार्यालयले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यस्तो कार्यक्रमले अनुसन्धान क्षमताको विकास, उत्कृष्ट कार्यको पहिचान तथा प्रहरी संगठनभित्र व्यावसायिक प्रतिस्पर्धा र प्रभावकारी अनुसन्धान संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।





