Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

१६ जेठ २०८३ कपुरकोट ;- कपुरकोट गाउँपालिका सल्यानको आयोजना तथा सन्जिवनी टिचिङ हस्पिटल घोराही, दाङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट करिब १ हजार १ सयभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा विभिन्न सात विभागका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै सन्जिवनी टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक डा. लुना शर्मा अर्यालले पश्चिम नेपालमै अत्याधुनिक स्वास्थ्य उपकरणसहित सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको जानकारी गराउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन आग्रह गर्नुभयो। उहाँले अस्पतालले आगामी असार मसान्तसम्म बहिरङ्ग (ओपिडी) टिकट सेवा निःशुल्क प्रदान गरिरहेको जानकारी दिँदै अस्पतालमा आएर सेवा लिन अनुरोध गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले गाउँपालिकाको नजिकै अत्याधुनिक स्वास्थ्य उपकरणसहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउनु स्थानीय नागरिकका लागि खुसीको विषय भएको बताउनुभयो। उहाँले अस्पताल सञ्चालनमा आएको छोटो समयमै कपुरकोटका नागरिकहरूको स्वास्थ्यप्रति चासो देखाएर शिविर सञ्चालन गरेकोमा अस्पताल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै गाउँपालिका र अस्पतालबीच आवश्यक सहकार्य तथा सम्झौता गर्न सकिने बताउँदै निकट भविष्यमै त्यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।
शिविरमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। आन्तरिक रोग (मेडिसिन) विभागमा डा. बाचस्पति सुवेदीले ३१७ जना, हाडजोर्नी तथा नसा रोग (अर्थोपेडिक) विभागमा डा. दुर्गा बेलबासेले ३२९ जना, स्त्री तथा प्रसूति रोग विभागमा डा. गोमा रिमालले १३४ जना, बालरोग विभागमा डा. सन्दीप पोख्रेलले ९४ जना, शल्यक्रिया विभागमा डा. रविन आचार्यले ६५ जना बिरामीको परीक्षण गर्नुभएको थियो।
त्यसैगरी अल्ट्रासाउन्ड (यूएसजी) सेवाबाट १८० जनाले सेवा लिएका थिए भने डा. जिसन केसीले उक्त सेवा प्रदान गर्नुभएको थियो। नाक, कान तथा घाँटी (ईएनटी) विभागमा डा. विप्लव रिमालले १०० जना बिरामीको परीक्षण तथा परामर्श दिनुभएको थियो।
शिविरमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष परामर्श, आवश्यक परीक्षण तथा स्वास्थ्यसम्बन्धी सुझाव प्राप्त गर्न पाउँदा स्थानीय नागरिक उत्साहित देखिएका थिए। आयोजकका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
स्थानीयवासीले विशेषज्ञ चिकित्सकको सेवा आफ्नै गाउँमा निःशुल्क रूपमा प्राप्त गर्न पाएकोमा गाउँपालिका र सन्जिवनी टिचिङ हस्पिटलप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech