२५ जेठ २०८३ कोहलपुर ;– कुखुराको मासु खाँदा घाँटीमा हड्डी अड्किएकी एक महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ। पश्चिम नेपालकै अग्रणी स्वास्थ्य संस्थाले जटिल अवस्थालाई समेत सरल बनाउँदै अत्याधुनिक प्रविधिबाट बिरामीको ज्यान बचाएको छ।
कैलालीको टिकापुर नगरपालिका–५ की ४४ वर्षीया मेनुका चौधरीले जेठ २ गते कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्काएकी थिइन्। स्थानीय स्वास्थ्य संस्थामा पटक–पटक उपचार गराउँदा पनि समस्या समाधान नभएपछि उनी थप मारमा परिन्। टिकापुर र वरपरका अस्पतालहरूमा आवश्यक उपकरण र विशेषज्ञ सेवा नभएको भन्दै चौधरीलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर जान सिफारिस गरिएको थियो।
लगातार घाँटी दुखाइ र खाना निल्न कठिनाइ बढेपछि उनी जेठ २२ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भइन्। प्रारम्भिक परीक्षणमा उनले कुखुराको मासु खाएको जानकारी दिएपछि कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेलको टोलीले हड्डी अड्किएको आशंका गर्यो। एक्स–रे र अन्य जाँचपछि घाँटीको भित्री भागमा हड्डी अड्किएको पुष्टि भयो।
दुई दिन औषधि उपचारपछि जेठ २४ गते डा. पौडेलको नेतृत्वमा सफल शल्यक्रिया गरियो। केही घण्टाको प्रक्रियापछि हड्डी सुरक्षित रूपमा निकालियो। शल्यक्रियापछि चौधरीको स्वास्थ्यमा तीव्र सुधार आएको अस्पतालले जनाएको छ। हाल उनी सामान्य अवस्थामा रहेकी छन्।
अस्पतालका प्रशासन प्रमुख रामकृष्ण हमालले नेपालगञ्ज मेडिकल कलेजले पश्चिम नेपाल र सुदूरपश्चिम क्षेत्रमा सुलभ, गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको बताए। उनले भने, “अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र आधुनिक प्रविधिको प्रयोगले जटिल प्रकृतिका रोगहरूको पनि सफल उपचार सम्भव छ। दुर्गम तथा ग्रामीण क्षेत्रका बिरामीहरूका लागि हाम्रो अस्पताल आशाको केन्द्र बनेको छ।”
नेपालगञ्ज मेडिकल कलेजले सुदूरपश्चिमका विभिन्न जिल्लामा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। स्थानीय स्तरमा उपचार नहुने जटिल बिरामीहरूलाई नेपालगञ्ज मेडिकल कलेजले विशेषज्ञ सेवा उपलब्ध गराउदै आइरहेको छ। शिक्षण अस्पताल भएको नाताले चिकित्सा शिक्षा, सामाजिक उत्तरदायित्व र आमनागरिकको विश्वास जित्दै अगाडि बढिरहेको यो संस्था पश्चिम नेपालका हजारौँ बिरामीका लागि वरदान साबित भएको छ।







