१६ असार २०८३ वुटवल;- नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल प्रहरीका सुशील सिंह राठौर को प्रमुख आतिथ्यतामा आयोजित एकदिवसीय गोष्ठीमा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय तथा अनुसन्धान इकाइहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका अनुसन्धान कार्यको समीक्षा, हासिल भएका उपलब्धि, देखिएका चुनौती, उत्कृष्ट अभ्यास तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
गोष्ठीमा अपराध अनुसन्धानलाई अझ वैज्ञानिक, प्रमाणमा आधारित, प्रविधिमैत्री तथा पीडितमैत्री बनाउने विषयमा विस्तृत छलफल भएको थियो। अनुसन्धानको गुणस्तर अभिवृद्धि, प्रमाण सङ्कलन र विश्लेषणलाई प्रभावकारी बनाउने तथा आधुनिक अनुसन्धान पद्धतिको प्रयोगलाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान गरिएको थियो।
यस वर्ष पहिलो पटक सञ्चालन गरिएको “Best Investigation Showcase” कार्यक्रममा विभिन्न जिल्लाले आफूहरूले सम्पन्न गरेका उत्कृष्ट अनुसन्धानका नमुना प्रस्तुत गर्दै नवीन अनुसन्धान रणनीति, सफल अभ्यास तथा सिकाइहरू एकअर्कासँग साझा गरेका थिए। उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्ने टोलीलाई “उत्कृष्ट अनुसन्धान सम्मान” प्रदान गरिएको थियो।
गोष्ठीको समापनमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुख, अनुसन्धान शाखा प्रमुख तथा इलाका प्रहरी कार्यालय प्रमुखहरूले अपराध अनुसन्धानलाई अझ व्यावसायिक, गुणस्तरीय, प्रमाणमुखी, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रदेशभर अपराध अनुसन्धानको प्रभावकारिता अभिवृद्धि गर्दै न्याय सम्पादन प्रक्रियालाई थप विश्वसनीय, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले आयोजित यो समीक्षा गोष्ठीले अनुसन्धान प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।








