०२ जेठ २०८३ कोहलपुर, बाँके ;- नेपाली मौलिक लोकसंस्कृति, लोकगीत तथा लोकपरम्पराको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित बाँकेको कोहलपुरमा “प्रथम बाँके खुला लोकगीत प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले नगद रु. ४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाँकेद्वारा आयोजित प्रतियोगिताबारे जानकारी दिन कोहलपुर–२ मनकामना चोकस्थित होटल डिभाइन डिस्मामा पत्रकार सम्मेलन गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र सिंह ठकुरी ले नेपाली लोकसंस्कृति पछिल्लो समय आधुनिकता र विदेशी संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले लोकगीत नेपाली समाजको पहिचान, इतिहास, संस्कार र जीवनशैलीसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको स्पष्ट पारे । अध्यक्ष ठकुरीले प्रतियोगिता केवल सांगीतिक कार्यक्रम नभई नेपाली मौलिक संस्कृतिको संरक्षण अभियान भएको समेत बताए ।
प्रतियोगिता आगामी २०८३ साल जेठ १५ गते शुक्रबार कोहलपुर–११ स्थित न्युरोड खुला मञ्चमा भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा बाँकेसहित देशका विभिन्न जिल्लाबाट लोकगायक, गायिका, सर्जक तथा कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा खुला लोकगीत प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी, प्रतिभा सम्मान तथा पुरस्कार वितरण गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
प्रतियोगिताको पुरस्कार राशि आकर्षक रहेको छ । जसअनुसार प्रथम हुनेले रु. ४० हजार, द्वितीय हुनेले रु. ३० हजार, तृतीय हुनेले रु. २० हजार तथा दुई जना सान्त्वनाले रु. ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकले कार्यक्रम सफल बनाउन सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, कलाकार तथा सम्पूर्ण संगीतप्रेमीहरूसँग सहयोगको अपिल समेत गरेको छ ।







