काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकाय उद्धार, खोजी, राहत तथा पुनःस्थापनामा निरन्तर खटिरहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद्को कठिन परिस्थितिमा सुरक्षाकर्मीले आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी राहत सामग्री आफैंले लिएको, वितरण नगरेको तथा सामग्री सडेर गएको आशयका भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीका अनुसार नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पार्दै विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने र आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य हो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा नेपाल प्रहरीलगायत सुरक्षा निकाय नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
प्रहरीले संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सबैमा हार्दिक अनुरोधसमेत गरेको छ।







