पर्सा — वीरगञ्जस्थित बाल सुधार गृहमा कार्यरत चौकीदार प्रमानन्द गुप्ता ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी गम्भीर आरोपमा पक्राउ परेका छन्। उनी सिराहा जिल्लाको लाहान नगरपालिका–३ का स्थायी बासिन्दा हुन् र हाल २४ वर्षका छन्।
गुप्ता बाल सुधार गृहमा चौकीदारको रुपमा कार्यरत रहँदा कैद सजाय भोगिरहेका विभिन्न मुद्दाका बाल अभियुक्तहरूबाट ठूलो परिमाणमा रकम असुलेको आरोप लागेको छ। अनुसन्धान अनुसार, उनले आफ्नो पदको दुरुपयोग गर्दै बाल अभियुक्तहरूलाई मानसिक दबाबमा राखी नगद तथा Esewa मार्फत गरी कुल दश लाख पन्ध्र हजार तीन सय सत्तरी रुपैयाँ बराबरको रकम असुलेका थिए।


बाल सुधार गृहबाट गुप्ता छुट्ने मिति नजिकिँदै गर्दा पीडित बालबालिकाहरूले अन्ततः आफूहरूसँग भएको दुर्व्यवहारको विषयमा बाल सुधार गृह प्रशासनलाई जानकारी गराए। सोही जानकारीको आधारमा पीडितको तर्फबाट प्रहरीमा उजुरी दर्ता गरियो। जाहेरी दर्ता भएको भोलिपल्टै, २०८२ साल असार ३२ गते, गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार हाल गुप्ताविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। घटनाले सुधार गृहभित्रका संरचना र त्यहाँ कार्यरत कर्मचारीको आचरणप्रति गम्भीर प्रश्न उठाएको छ। न्यायको प्रतीक्षा गरिरहेका बालबालिकामाथि यस्तो किसिमको व्यवहार हुनु दुर्भाग्यपूर्ण मात्र होइन, समाज र प्रणाली दुबैका लागि कलंक पनि हो।
यस घटनाले सुधार गृहमा पारदर्शिता, उत्तरदायित्व र कडाइका साथ निगरानीको आवश्यकता झनै बढाएको छ।





