काठमाडौं, साउन ७ — नेपाली सेना वार कलेज, नगरकोटमा सञ्चालन भइरहेको सि.सं. ६ “अल आर्म्स कमाण्ड तथा स्टाफ” कोर्समा सहभागी तालिमरत अधिकृतहरूले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अध्ययन अवलोकन भ्रमण गरेका छन्।


४६ जना सैनिक अधिकृतहरू सहभागी उक्त भ्रमणको सुरुआतमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले स्वागत गर्नुभएको थियो। भ्रमण टोलीले प्रहरी प्रधान कार्यालयस्थित अत्याधुनिक डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालय अवलोकन गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा प्रहरी सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले नेपाल प्रहरीको इतिहास, दायित्व, कार्यक्षमता र हालको संरचना लगायत विविध पक्षमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँले नेपाली सेना र नेपाल प्रहरीबीचको सहकार्य, समन्वय र पारस्परिक सहयोगका क्षेत्रमा पनि चर्चा गर्नुभयो।
अन्तरक्रिया सत्रमा सहभागी अधिकृतहरूले नेपाल प्रहरीसम्बन्धी जिज्ञासाहरू राखेका थिए, जसको स्पष्ट र व्यावसायिक उत्तर दिँदै थापाले कार्यक्रमलाई अझ उपयोगी बनाउनुभएको थियो।
कार्यक्रमको समापनमा सेनानी मनोज सुबेदीले सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्दै, यस्तो अध्ययन भ्रमणले आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।





