




सिराहा — सिराहाको नवराजपुर गाउँपालिकाबाट लागुऔषध कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ।


पक्राउ परेका व्यक्ति भारतको मधुबनी जिल्लास्थित ग्राम पञ्चायत बिरपुर–९ का ३८ वर्षीय श्याम सुन्दर पासवान हुन्। उनलाई नवराजपुर गाउँपालिका–४, कुसन्डीबाट खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पासवान सवार बिआर–३२–एम–७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरिएको थियो। तर, उनी मोटरसाइकल लिएर भाग्न खोजेपछि इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले टाइप ७७ पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो।
गोली फायर भएपछि उनी मोटरसाइकल रोकेर समातिएका थिए। जाँचका क्रममा उनको साथबाट करिब ५० ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पासवानलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा लगिएको छ।





