
नेपालगञ्ज, बाँके | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, बाँके जिल्ला समितिको नयाँ नेतृत्व चयन गरिएको छ। जिल्ला अध्यक्षमा नरेन्द्र ददेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
वाइसीएल बाँकेले शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनबाट कविता चौधरी, दीपक गिरी र शेर बहादुर खड्कालाई उपाध्यक्ष पदमा चयन गरिएको छ। त्यस्तै, सचिवमा विजय कुमार कुर्मी र सह–सचिवहरूमा कुमार श्रीस, दीपशिखा दाहाल तथा मोहम्मद हारुन अली जागा चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी मारुफ शेषले पाएका छन्।
नयाँ कार्यसमितिमा करिब ५० जना सदस्यहरू पनि सर्वसम्मतिबाट चयन गरिएको वाइसीएल बाँकेले जनाएको छ। अधिवेशनमा युवाको व्यापक सहभागिता देखिएको थियो।
वाइसीएलले नयाँ नेतृत्वसँगै जिल्लामा युवामुखी कार्यक्रमलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।







