कोहलपुर, बाँके —
कोहलपुरस्थित ईलाका प्रशासन कार्यालयमा दैनिकजसो सेवा लिन आउने सर्वसाधारणहरू निराश, पीडित र आक्रोशित छन्। सेवाको नाममा उनीहरूले पाउने भनेको केवल सास्ती, अन्योल, र अपमान मात्र हो।
सरकारी मापदण्डअनुसार कार्यालय बिहान १०:०० बजे खुल्नुपर्ने हो, तर यहाँको अवस्था अर्कै छ। यो कार्यालय शायद कहिल्यै १०:२० वा १०:२५ भन्दा अगाडि खुल्दैन। बिहानैदेखि लाइनमा बसेका नागरिकहरू ढोका अगाडि कुर्न बाध्य छन्, कुनै जानकारी नदिइ ढोका बन्द गरिन्छ, र सेवाको सुरुआत ढिलो गरिन्छ।


ढोका खुलेपछि पनि सजिलो छैन यात्रा। कहिले टोकन सिस्टम लागु गरिन्छ त कहिले बिना टोकन काम अघि बढाइन्छ। नियमको कुनै स्थायित्व छैन। एक दिनको सिस्टम अर्को दिन बदलिन्छ। यो अस्थिरताको मारमा पर्नु पर्ने भनेको– ती आम सर्वसाधारण नागरिक, जो घाम, वर्षा, र समयको पर्वाह नगरी आफ्नो काम लिएर प्रशासन कार्यालय पुग्छन्।
सबैभन्दा दुःखद पक्ष भनेको कार्यालयका कर्मचारीहरूको व्यवहार हो। राष्ट्रिय परिचयपत्र शाखामा कार्यरत कर्मचारीहरू सेवाग्राहीसँग चर्को स्वरमा झर्केर बोल्ने गरेको सेवाग्राहीहरूको साझा गुनासो छ। शान्ति सुरक्षा कायम राख्न खटिएका प्रहरी कर्मचारीहरू पनि त्यस्तै व्यवहार गर्छन् – सेवा दिनुभन्दा सेवाग्राहीलाई हप्काउने शैलीमा प्रस्तुत हुन्छन्।
यस कार्यालयमा अझै अर्को ठूलो समस्या भनेको सूचना प्रणालीको अभाव हो। सेवाग्राहीलाई आवश्यक पर्ने कागजातहरूको कुनै सूची न त कार्यालयको बाहिर टाँसिएको छ, न कुनै बोर्डमा जानकारी दिइन्छ। त्यसैले जो कोही सेवाग्राही एकै कामका लागि पटक–पटक लाइनमा बस्नुपर्छ, एक टेबलबाट अर्को टेबल धाइरहनुपर्छ। कोठा–कोठा धाइरहँदा उनीहरूले पाउने भनेको – अझ बढी झर्को, अझ बढी झन्झट।
सांघातिक बेथिति, व्यवस्थापकीय लापरवाही र मानवीय संवेदनाको पूर्ण अभावले गर्दा कोहलपुर ईलाका प्रशासन कार्यालय जनताका लागि एउटा ‘सास्ती केन्द्र’ बन्न पुगेको छ। राज्यको प्रतिनिधित्व गर्ने यस्ता कार्यालयहरू जनताको सेवामा समर्पित हुनुपर्ने हो, तर यहाँ त उल्टै सेवा लिनु भनेको संघर्ष गर्नुपर्ने प्रक्रिया बनेको छ।
अब प्रश्न उठ्छ – के यस्तो व्यवहारलाई राज्यले हेरेर बसिरहन्छ? के यी गुनासोहरू सुन्ने कुनै निकाय छ?
जनताको दुःख, सास्ती र अपमानको यो श्रृङ्खला कहिले अन्त्य हुन्छ, त्यो अझै अनिश्चित छ। तर यति अवश्य स्पष्ट छ – कोहलपुर प्रशासन कार्यालयमा सुधारको आवश्यकता अत्यन्तै जरुरी छ।





