कोहलपुर, बाँके —
कोहलपुर टुडे अनलाइनका कार्यकारी सम्पादक तथा प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान जिल्ला सह–सचिव डिल्ली शाहीलाई दिइएको ज्यान मार्ने धम्कीप्रति पत्रकार समुदायमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।


प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकार शाहीलाई बिना कारण गम्भीर किसिमको धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
पत्रकार शाहीका अनुसार कोहलपुर नगरपालिका–१० निवासी तथा स्वयं पत्रकार समेत रहेका प्रमोद रिजालले “घाँटी स्वीट गरिदिन्छु” भन्ने शब्द प्रयोग गर्दै आपत्तिजनक र डर फैलाउने सन्देश पठाएका छन्। शाहीले भनेअनुसार, “उहाँसँग मेरो कुनै व्यक्तिगत रिसइवी छैन, तर पनि यस्तो अभद्र व्यवहार हुनु दुःखद छ।”
शाहीले यसअघि पनि रिजालबाट पटक–पटक डर त्रास हुने किसिमका व्यवहार हुँदै आएको बताउँदै आएका छन्।
प्रेस सेन्टरले सार्वजनिक विज्ञप्तिमा भनेको छ –
“जनतालाई सुसूचित गराउने धर्म बोकेका पत्रकारमाथि त्यही पेशामा आवद्ध व्यक्तिबाट धम्की आउनु अत्यन्त खेदजनक र निन्दनीय छ। यसले व्यक्तिगत स्वतन्त्रता, पत्रकारिताको मर्यादा र आचारसंहिता नै उल्लंघन गरेको देखिन्छ।”
संगठनले पत्रकार शाहीको भौतिक सुरक्षा र भयरहित वातावरणमा कार्य गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ। साथै, यदि यस्तो कार्य दोहोरिएमा वा सम्बन्धित निकायले गम्भीरता नदिएमा, कानुनी प्रक्रियामा अगुवाइ गर्न आफू तयार रहेको चेतावनी समेत दिएको छ।
यस घटनाले फेरि एकपटक पत्रकारहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरिदिएको छ। प्रेस सेन्टर बाँकेले निष्पक्ष छानबिन र आवश्यक कारवाहीको माग गर्दै पत्रकार शाहीसँग ऐक्यबद्धता जनाएको छ।





