बनेपा — लगातारको वर्षापछि बढेको पानीका कारण बनेपाको पुण्यमाता खोला एक जना पुरुषलाई बगाउँदै ल्याइरहेको देखेपछि दुई जना प्रहरी जवानले ज्यानको प्रवाह नगरी खोलामा हामफालेर साहसिक उद्धार गरेका छन्।


खोलामा बग्दै गरेको देख्नेबित्तिकै प्रहरी सहायक हवल्दार कृष्णप्रसाद तिमिल्सिना र रामकृष्ण थापा तत्कालै खोलामा हामफाली ती पुरुषको जीवन बचाउन सफल भए। अहिले उनीहरूको उद्धार गर्ने दृश्यको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ, जसले सर्वसाधारणदेखि प्रहरी संगठनसम्म चौतर्फी प्रशंसा पाएको छ।
उनीहरू दुवैजना प्रदेश प्रहरी कार्यालय, बनेपामा कार्यरत छन्। पुण्यमाता खोला उक्त कार्यालयकै अगाडिबाट बग्ने गर्छ। कार्यालयको ड्युटीमा खटिएका उनीहरूले खोलामा बग्दै गरेको देखेपछि कुनै समय नगुमाई जोखिम मोलेर उद्धार गरेका हुन्।
प्रहरी प्रवक्ता डिएसपी मदन थापाका अनुसार उद्धार गरिएका ती पुरुषलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालयमार्फत परिवारको जिम्मा लगाइएको छ।





