काठमाडौँ — राजधानी प्रवेश मार्ग नागढुंगामा प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। यस क्रममा दुई जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा भारतको सितामणी जिल्ला निवासी ४० वर्षीय इम्तीयाज राइन खान र ललितपुरको पाटन मंगलबजार बसोबास गर्दै आएका, सिराहा धनगढीमाई–१० का २० वर्षीय राज सिंह रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, नागढुंगा चेकपोस्टमा जनकपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ख २६८७ नम्बरको यात्रुबाहक बसलाई संयुक्त प्रहरी टोलीले जाँच गर्दा बसको डिक्कीमा झोला र टिनको ट्याङ्कभित्र लुकाइएका लागुऔषध भेटिएका हुन्।
बरामद गरिएको लागुऔषध र पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।





