
कोहलपुर, बाँके – कोहलपुर–नेपालगन्ज राजमार्ग अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मत कार्य भदौ १५ भित्र सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगन्ज र निर्माण कम्पनीबीच सहमति भएको छ।
बिहीबार सडक डिभिजन कार्यालय नेपालगञ्जमा प्रमुख नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले ठेक्का सम्झौताअनुसार सम्पूर्ण निर्माण कार्य तोकिएको मितिभित्र सम्पन्न गर्ने निर्णय गरेको हो।


यो सहमति नेकपा (माओवादी केन्द्र)ले सडक मर्मतको मागसहित सडकमै पत्रकार सम्मेलन गरेको २४ घण्टाभित्र आएको हो। बैठकमा ठेक्का पाएको श्री माँ त्रिपुरासुन्दरी–पंचकोषी नागदेव जेभी कम्पनीका प्रतिनिधि किशोर खड्का समेत सहभागी थिए।
निर्धारित कार्यतालिका अनुसार—
- साउन ३० देखि Base Course Correction सुरु गरी २ दिनभित्र सम्पन्न गर्ने
- भदौ १ देखि Prime Coat/Asphalt Laying सुरु गरी ७ दिनभित्र समाप्त गर्ने
- भदौ ४ मा देउराली–१९ को मोडमा Rigid Pavement निर्माण सोही दिन पूरा गर्ने
- भदौ १५ भित्र सम्पूर्ण काम सम्पन्न गर्ने
यदि मौसमी कारणले ढिलाइ भएमा १–२ दिन समय थपिने व्यवस्था गरिएको छ।
निर्माण अवधिमा सार्वजनिक यातायात तथा सर्वसाधारणको आवागमन सहज रहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थासहित सडक सञ्चालनमा राखिनेछ। सहमति अनुसार कार्यतालिका पालना नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी पनि सडक डिभिजन कार्यालयले दिएको छ।





