दार्चुला —दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–३, कर्के नजिकै गोकुलेश्वर–मार्मा सडकखण्ड छेउमा संकास्पद रूपमा हिँडिरहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी जिल्ला, पुर्चौडी नगरपालिका–७, ऐर गाउँ निवासी ५० वर्षीय भान सिंह ऐर रहेका छन्। उनको साथमा रहेको कालो झोलालाई संकास्पद मानी, जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा चितुवाको जस्तो देखिने छाला फेला परेको हो।


बरामद गरिएको छालाको लम्बाइ ६ फिट ३ इन्च (शिरदेखि पुच्छरसम्म) रहेको छ भने अगाडिको खुट्टाको चौडाइ ३ फिट १० इन्च, पछाडिको खुट्टाको चौडाइ ३ फिट ८ इन्च, र कम्मरको भागको चौडाइ १ फिट १० इन्च रहेको प्रहरीले जनाएको छ।
बरामद छालासहित आरोपीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको दार्चुला प्रहरीले जानकारी दिएको छ।





