काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षकको पदमा नियुक्ति लिएको ठहर गर्दै विशेष अदालतले अशोककुमार साहलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका सदस्य न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले शुक्रबार फैसला सुनाएको हो। यो मुद्दा २०८१ साल जेठ २२ गते दर्ता भएको थियो।


अदालतका अनुसार साहले २०६९ साल कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट प्राप्त सन् २००४ को नवीन उत्तरमध्यमा प्रमाणपत्र पेश गरेका थिए। तर, सो शैक्षिक कार्यक्रम विश्वविद्यालयमा दर्ता नै नभएको प्रमाणित भएको हो।
दरभंगा विश्वविद्यालयको १९ जुलाई २०२५ मा जारी पत्र र त्यसैको आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले २०८२ साउन २२ मा दिएको पत्रले प्रमाणपत्र नक्कली भएको पुष्टि गरेको अदालतले जनाएको छ।
यस आधारमा, साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसारको कसूर गरेको ठहर गर्दै कैद र जरिवानाको सजाय तोकिएको हो।






