काठमाडौं – अवैध क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गरेको अभियोगमा प्रहरीले दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरूबाट झण्डै साढे १५ लाख रुपैयाँ नगद समेत बरामद गरिएको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार, पक्राउ परेकामध्ये भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र सोही उमेरका मुन्ना जयसवाल रहेका छन्।
त्यस्तै, बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल र सोही नगरपालिका–५ का २५ वर्षीय मनमोहनकुमार सिंहलाई समेत नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूलाई काठमाडौंको कालोपुल क्षेत्रबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले करिब ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।





