
बाँके । बाँकेको कोहलपुरस्थित पार्क पछिल्लो समय सार्वजनिक मनोरञ्जन स्थलभन्दा बढी रक्सी सेवन र डेटिङ गर्ने ठाउँका रूपमा प्रयोग भइरहेको पाइएको छ।


पार्कभित्र युवायुवती र समूहमा आउने मानिसहरूले दिन-दिहाँडै बियरका बोतल, प्लास्टिकका गिलास र विभिन्न मदिरा सेवन गर्ने गरेको स्थानीयवासीहरूले बताएका छन्। यसरी खुलेआम मदिरा सेवनसँगै पार्कमा अत्यधिक फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका साथै घुम्न आउने परिवार र बालबालिकालाई असहज हुने गरेको छ।
“फोहोर र रक्सीको गन्धले घुम्नै नसक्ने अवस्था”
एक स्थानीय बासिन्दाले भने, “हामी बिहान–बेलुकी हिँड्न पार्क आउँछौँ तर बियरका बोतल र फोहोर छरपस्ट देख्दा घिन लाग्छ। बालबालिकासहित आउँदा त झन् लाज लाग्छ।”
यस्तै, पार्कभित्र अनुशासनको कमीका कारण डेटिङ गर्ने युवायुवतीको जमघट बढेको र यसले पारिवारिक वातावरणलाई बिगारिरहेको स्थानीयहरूको गुनासो छ।
निगरानी र सफाइ माग
पार्कमा नियमित सफाइ, नगर प्रहरी निगरानी र व्यवस्थापन निकायको चासो अभाव भएकाले समस्या झन् बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।
स्थानीयवासीहरूले तत्काल नियमित सफाइ व्यवस्था गर्न, पार्कभित्र मदिरा सेवनलाई नियन्त्रण गर्न तथा सार्वजनिक स्थानको मर्यादा कायम राख्न सम्बन्धित निकायसँग माग गरेका छन्।





