कोहलपुर, बाँके– बाँकेको कोहलपुर बजार क्षेत्र पछिल्लो समय शिक्षा परामर्श (एजुकेशन कन्सल्टेन्सी) को ‘हब’ बन्दै गएको छ । अवस्था यति जटिल छ कि बजार क्षेत्रमा लगभग हरेक घरमा एउटा कन्सल्टेन्सी देख्न सकिन्छ । तर यति ठूलो संख्यामा कन्सल्टेन्सी खुले पनि नियमन र जवाफदेहिताको अभावले विद्यार्थी मात्र मारमा परेका छन् ।
थुप्रै कन्सल्टेन्सीहरू कुनै किसिमको दर्ता नै नगरी सञ्चालन भइरहेका छन् । कतिले कर नतिरी व्यवसाय चलाईरहेका छन् भने कतिले आंशिक कर तिरेर नियम छलेका छन् । धेरैजसो कम्पनी दर्ता र आन्तरिक राजस्व कार्यालय (IRD) सम्म मात्र सीमित छन् तर शिक्षा मन्त्रालय, प्रदेश शिक्षा मन्त्रालय वा सामाजिक विकास मन्त्रालय/शाखामा दर्ता हुने/नहुने विषय अझै अन्योलमै छ ।


विद्यार्थीले बुझाउने कक्षा शुल्क वा सेवा शुल्कमा कुनै मापदण्ड छैन । “मन लागे जति” असुल्ने प्रवृत्तिले थुप्रै विद्यार्थी आर्थिक रूपमा मारमा परेका छन् । अझै, धेरै विद्यार्थी भिसा अस्वीकृति (rejection) मा परेका छन्, जसले गर्दा उनीहरूको समय र पैसाको दोहोरो घाटा भएको छ ।
कानूनअनुसार शिक्षा परामर्श संस्थाले काम (वर्क/रोजगार) सम्बन्धी प्रक्रिया गर्न पाउँदैनन्, तर कोहलपुरका केही कन्सल्टेन्सीहरूले रोजगार सम्बन्धी काम पनि गरेको भेटिएको छ । यसबाहेक, कन्सल्टेन्सीमा अध्यापन गर्ने ‘इन्स्ट्रक्टर’ मध्ये धेरैजसोले स्नातक (Bachelor) सम्म पनि अध्ययन नगरेको देखिन्छ, जसले सेवाको गुणस्तर थप प्रश्नमा परेको छ ।
स्थानीय निकायले भने यस विषयलाई बेवास्ता गरेको छ । नगरपालिकाले व्यवसाय दर्ता अनिवार्य भए पनि धेरै कन्सल्टेन्सीले दर्ता गरेका छैनन् । नगर शिक्षा शाखाले “यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन” भनेर पन्छिने गरेको छ भने जिल्ला प्रशासन कार्यालय यस विषयमा मौन बसेको आरोप छ ।
शिक्षाविद्हरू भन्छन् —
“कन्सल्टेन्सी र निजी विद्यालय मात्रै थुपारेर कोहलपुर शैक्षिक केन्द्र (Educational Hub) बन्दैन । पारदर्शी शुल्क, गुणस्तरीय मार्गदर्शन, दक्ष प्रशिक्षक र सशक्त नियमन बिना यहाँको शिक्षा व्यवसाय उल्टै अराजक बन्न सक्छ ।”
यदि तत्कालै नियमनकारी निकाय सक्रिय भएनन् भने, ‘कोहलपुर एजुकेशन हब’ बन्ने सपना केवल नाममै सीमित हुने स्थानीय सरोकारवालाहरूको चेतावनी छ ।






