मुगु — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।


आयोगले आइतबार दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सवइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा, योजनाशाखा प्रमुख नविन बुमीसहित उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।
जवलधारा पीसीसी सडक निर्माण योजनामा संलग्न उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह–संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाई, अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य पुने शाही र सो गाउँपालिकाको वडा नं. १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीसमेत विरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, २०७७/७८ सालमा वडा नं. १ मा सञ्चालित पीसीसी सडक निर्माण योजनामा वास्तविकभन्दा बढी मूल्यांकन गरी भ्रष्टाचार गरिएको पाइएको छ।
उक्त योजना ४० लाख १३ हजार ४३९ रुपैयाँमा सम्झौता भए पनि सम्झौताभन्दा करिब ७ लाख ६ हजार ७९९ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको आरोप छ। आयोगले सो अतिरिक्त रकम बराबरको विगो माग दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।






