काठमाडौं — करोडौं रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका गुन्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।


आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका गोर्खालीविरुद्ध चेक बाउन्स मुद्दामा आवश्यक अनुसन्धानका लागि हिरासत अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
आइतबार काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले गोर्खालीलाई चन्द्रागिरि क्षेत्रबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनको विरुद्ध करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दा दायर भएको छ।
यसअघि पनि गोर्खालीलाई गुण्डागर्दी लगायतका आरोपमा प्रहरीले पटक–पटक पक्राउ गरे पनि पछि रिहा हुँदै आएका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक–२ मा उम्मेदवार सिफारिस सूचीमा समेत परेका थिए।






