काठमाडौं । प्रहरीले श्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा वीरगन्ज महानगरपालिका–२ का ३५ वर्षीय संजयकुमार साह र बारा महागढीमाई नगरपालिका–४ का ३२ वर्षीय शनिकुमार ठाकुरलाई नियन्त्रणमा लिएको हो।


प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इदगाहचोकमा चेकजाँच गर्दा उनीहरुको साथबाट १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो। उक्त रकम १ हजार दरका १० लाख रुपैयाँ र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
साथै उनीहरु प्रयोगमा ल्याएको बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ रकम ल्याइएको खुलेको प्रहरीले जानकारी दिएको छ।
बरामद रकमको श्रोत स्पष्ट नभएकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको र आजै अदालतमा पेश गरी म्याद थप प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको छ।






