काठमाडौं । साउनको अन्तिम दिन काठमाडौंमा घरेलु हिंसा सम्बन्धी उजुरीपछि प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।


काठमाडौंको चमतीमा बस्दै आएकी धादिङकी एक महिलाले प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरी आफ्नै श्रीमान्ले कुटपिट गरेको र ज्यान मार्ने धम्की दिइरहेको जानकारी दिएकी थिइन्।
उक्त सूचनापछि प्रहरी वृत्त स्वयम्भुको टोली घटनास्थल पुगेको थियो। त्यतिबेला पीडित महिला कोठामा आहत अवस्थामा भेटिएकी थिइन् भने श्रीमान् फरार थिए। महिलाले प्रहरीलाई श्रीमान्ले बारम्बार मार्ने धम्की दिने गरेको र पेस्तोल देखाउने गरेको जानकारी दिएकी थिइन्।
प्रहरीलाई उनले घरभित्र लुकाइराखिएको अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र सात राउन्ड गोली समेत देखाइन्। बरामद गरिएको हतियारको मुचुल्का क्षेत्राधिकारअनुसार प्रहरी वृत्त बालाजुले तयार गरेको छ।
त्यसपछि बालाजु प्रहरी टोलीले फरार रहेका श्रीमान्—धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल चमती बस्ने २९ वर्षीय शिवराज दराईलाई सोही रात पक्राउ गरेको छ।
प्रहरीका अनुसार दराईमाथि हातहतियार खरखजना मुद्दामा अनुसन्धान सुरु गरिएको छ।





