काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा ‘साझा जिम्मेवारी, समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नारासहित सञ्चालन भएको दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार सम्पन्न भएको छ ।


सम्मेलनको समापन समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी प्रमुख आतिथ्य रहनु भएको थियो । उहाँले नेपाल प्रहरीमा लैङ्गिक समावेशीकरण र महिला सशक्तिकरणको यात्रामा सम्मेलनले नयाँ अध्यायको सुरूवात गरेको उल्लेख गर्दै यसले नीति निर्माणदेखि संस्थागत सुधारसम्म मार्गदर्शकको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा उत्कृष्ट योगदान गर्ने महिला प्रहरी कर्मचारीहरूलाई कदरपत्र, प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको थियो ।
गृहसचिव दुवाडीले सम्मेलनमा प्रस्तुत भएका विज्ञता, अनुसन्धान प्रतिवेदन, अनुभव आदान–प्रदान र छलफलले नेपाल प्रहरीलाई लैङ्गिक संवेदनशील सेवाको सुदृढीकरणका लागि महत्वपूर्ण पृष्ठपोषण गरेको बताए । उहाँले सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनमा जोड दिँदै, यसबाट प्राप्त सुझावहरू आगामी दिनमा प्रहरीलाई अझ न्यायिक, उत्तरदायी र समाजमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्दै महिला प्रहरी कर्मचारीहरूले शान्ति–सुरक्षा, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको बताए । उहाँले सम्मेलनलाई महिला प्रहरीको सशक्त नेतृत्व निर्माणतर्फको कोशेढुंगा भएको भन्दै संगठन निरन्तर गतिशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने, प्रहरी नायव निरीक्षक संगीता रसाइलीले आफ्नो अनुभव सुनाउनुभयो । साथै, **प्रा.डा. बिन्दु पोखरेल (त्रिवि, जेंडर स्टडीज विभाग)**ले सम्मेलनको आवश्यकता र महत्वबारे मन्तव्य राख्नुभएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा सातै प्रदेश प्रहरी प्रमुखहरू उपस्थित थिए । प्रदेशका सबै महिला–बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका महिला प्रहरीहरू भने भर्चुअल माध्यममार्फत सहभागी भएका थिए ।
नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ अन्तर्गत लैङ्गिक समानता र न्यायलाई मूलप्रवाहमा ल्याउने उद्देश्यसहित केन्द्रीय स्तरमा पहिलो पटक यस सम्मेलनको आयोजना गरिएको हो ।





