नेपालगन्ज, ७ भदौ ।
नेपालगन्जमा उपभोक्ताको स्वास्थ्यसँग खिलवाड गर्दै अखाद्य रंग मिसाएर बिरयानी बेच्ने एक होटल सञ्चालकलाई जिल्ला अदालत बाँकेले ६ महिनाको कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।


जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको इजलाशले नेपालगन्ज–११ स्थित बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साईलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।
गत वर्ष जेठ ५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य निरीक्षक रामहरि लामिछानेले उमरविरुद्ध मुद्दा दायर गरेका थिए। स्थलगत अनुगमनको क्रममा होटलमा अत्यन्तै फोहोर अवस्था देखिएको, मासु दूषित अवस्थामा भण्डारण गरिएको, शौचालय नजिकै खाना पकाइने गरेको र बिरयानी तथा कवाबमा हानिकारक कोलटार रंग प्रयोग गरिएको प्रमाणित भएको कार्यालयले जनाएको थियो।
अनुगमन टोलीले झिङ्गा भन्किरहेको, प्लास्टिकका भाँडामा खाना भण्डारण गरिएको र मासु तथा अन्य सामग्री अस्वच्छ अवस्थामा राखिएको पनि उल्लेख गरेको छ।
यस फैसलासँगै उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायीहरूलाई कानुनले कडा कारबाही गर्ने सन्देश गएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।





