७ भदौ, २०८२ | नेपालगञ्ज (बाँके)


मोती जयन्तीको अवसरमा शास्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगञ्जले साहित्यकार एवम् संस्कृतिविद् डा. गोविन्द आचार्यद्वारा लिखित दङ्गी-उर्वशी महाकाव्यबारे समीक्षात्मक चर्चा कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानका अध्यक्ष किरण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य महानन्द ढकाल प्रमुख अतिथि रहेका थिए। चर्चामा समीक्षकहरू चरित्रा शाह, डा. राजकुमार थारू र विश्वराज पिछलडंग्याले महाकाव्यबारे विचार प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि ढकालले डा. आचार्यले साहित्य, सङ्गीत र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै जातीय संस्कृतिको अनुसन्धान तथा संरक्षणमा उहाँको भूमिका स्मरणीय रहेको बताए। कार्यक्रममा साहित्यकार प्रलेस नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना तथा राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले पनि डा. आचार्यको साङ्गीतिक र सांस्कृतिक योगदानको चर्चा गरे।
सभाध्यक्ष किरण आचार्यले दङ्गी-उर्वशी महाकाव्यबारे चर्चा गर्ने अवसर ऐतिहासिक भएको उल्लेख गर्दै सबै सहभागीप्रति आभार प्रकट गरे। समीक्षकहरूले यस कृतिले पौराणिक मिथकलाई काव्यात्मक शैलीमा प्रस्तुत गर्दै दङ्गाली आदिवासी थारु राजा दङ्गीशरणसँग जोडिएको ऐतिहासिक कथानकलाई दस्तावेज गरेको बताए। २०७८ सालमा प्रकाशित यो कृति डा. आचार्यको २० औं पुस्तक हो।
लेखक डा. आचार्यले महाकाव्य लेख्नुको औचित्य र प्रेरणाका स्रोतबारे धारणा राख्दै पुस्तक प्रकाशित भएपछि भएको परिचर्चाले आफूलाई अझै उत्साहित बनाएको बताए।
दाङ घोराही निवासी डा. गोविन्द आचार्य साढे चार दशकदेखि नेपाली गीत-सङ्गीत, साहित्य र संस्कृतिका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनका २६ वटा अनुसन्धानमूलक तथा विश्लेषणात्मक कृतिहरू प्रकाशित छन् भने अन्य केही प्रकाशन प्रक्रियामा रहेका छन्।
डा. जनार्दन आचार्यको स्वागत मन्तव्य र स्रष्टा परिचयपछि शुरु भएको कार्यक्रममा प्रा.डा. गोपाल प्रसाद अधिकारी, प्राज्ञ हरिप्रसाद तिमल्सिना, डा. लोकराज, खोपीराम ओली, प्रा. कमानसिहं बोहरा, डा. इन्द्र भण्डारी, नवीन अभिलासी, विष्णु पादुका, भरत रानाभाट, कल्पना खरेल, छविलाल खड्का, विपि अस्तु लगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नरहरिनाथ योगीले गरेका थिए।





