कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी डम्बरबहादुर विक शुक्रबार आफैं सार्वजनिक यातायातको अनुगमन तथा चेकजाँचमा उत्रिएका छन्।


कैलालीस्थित अत्तरिया बसपार्क पुगेर उनले छोटो र लामो दूरीका विभिन्न सार्वजनिक सवारीसाधनमा चढी यात्रुहरूसँग प्रत्यक्ष कुरा गर्दै चालक तथा सहचालकको व्यवहार, सेवा सुविधा र नियम पालनाको अवस्था बुझ्ने प्रयास गरे।
अनुगमनका क्रममा डीआईजी विकले महिला तथा ज्येष्ठ नागरिकका लागि अनिवार्य आरक्षित सिट सुनिश्चित गर्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिए। साथै उनले यात्रुहरूलाई सार्वजनिक यातायात प्रयोग गर्दा कुनै पनि गलत काम वा दुर्व्यवहार भए तत्काल ट्राफिक प्रहरी वा नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरे।
उक्त अनुगमन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुदूरपश्चिमका प्रमुख एसपी प्रेम शाही, विभिन्न प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवस्था कार्यालय कैलालीका अधिकृत, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, यातायात व्यवसायी, पत्रकार तथा स्थानीयबासीको समेत उपस्थिति थियो।
स्थानीयहरूले प्रहरी प्रमुख स्वयं मैदानमा उत्रनुले सार्वजनिक यातायात क्षेत्र अझ व्यवस्थित र अनुशासित बन्ने विश्वास व्यक्त गरेका छन्।





