रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ स्थित गौर सिर्सिया सडक खण्डमा सुटकेशभित्र विवाहित महिलाको शव फेला परेको छ।


शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको अवस्थामा स्थानीयले बेवारिसे सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुटकेश डोरीले बेरेर बन्द गरिएको थियो। प्रहरीको उपस्थितिमा आइतबार बिहान सुटकेश खोल्दा करिब ३५ वर्ष उमेरकी महिलाको शव भेटिएको हो।
शव गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी महिलाको रहेको प्रहरीले जनाएको छ। टाउकोमा गहिरो चोट लागेको देखिएको छ। साथै, सुटकेशभित्र केही कागजात तथा सुरुवालको खल्तीमा नगद समेत फेला परेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायव प्रहरी उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए।





