काठमाडौं — प्रहरी प्रधान कार्यालयले मातहतका अधिकारी तथा कर्मचारीलाई सेवाग्राही वा आपसी संवादका क्रममा द्विअर्थी वा अश्लील भाषा प्रयोग नगर्न निर्देशन दिएको छ।


सार्वजनिक भेटघाट, औपचारिक वा अनौपचारिक कुराकानीमा अशोभनीय शब्द प्रयोग भएको गुनासो आएपछि महानिरीक्षक (आईजी)को सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले परिपत्र जारी गरेको हो।
परिपत्रमार्फत उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई असल आचरण र व्यवहार प्रवर्द्धन गर्न निर्देशन दिइएको छ।
महाशाखाका अनुसार केही वरिष्ठ अधिकारीहरूले आवश्यक नम्रता र नैतिक जिम्मेवारी आत्मसात नगरेको देखिएको छ, जसले नागरिक–प्रहरी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने भएकाले आचरण सुधारमा जोड दिनुपर्ने उल्लेख गरिएको छ।






