काठमाडौं, भदौ ८ ।
प्रहरी प्रभाग नयाँ बसपार्कले करिब ७ लाख रुपैयाँ मूल्य बराबरका चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।


प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ मा अवस्थित केरोन ट्रेडिङ प्रा.लि. को ललितपुरस्थित ठैबस्टिस्ट गोदामबाट चोरी भएका सामग्री काजी टोखा नगरपालिका–३, सूर्यदर्शन हाइटमा लुकाइ राखिएको विशेष सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा जिल्ला कास्की मादी गाउँपालिका–१ स्थायी घर भई हाल टोखामा बस्दै आएका ४८ वर्षीय नवीन (नव बहादुर) गुरुङलाई प्रहरीले उनको टोखास्थित डेराबाट नियन्त्रणमा लिएको हो।
गुरुङको कोठामा खानतलासी गर्दा विभिन्न ब्रान्डका इलेक्ट्रोनिक सामग्री तथा गृहउपयोगी उपकरणहरू बरामद गरिएको प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक सरण विक्रम शाहले जानकारी दिनुभयो। बरामद सामग्रीहरूको बजार मूल्य करिब ७ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ।
पक्राउ परेका गुरुङलाई चोरीका सामानसहित आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।






