Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर (बाँके)– पछिल्लो समय बाँकेको कोहलपुर बजार क्षेत्रमा शिक्षा परामर्श (एजुकेशन कन्सल्टेन्सी)हरूको संख्यामा एक्कासी बृद्धि भएको छ । अवस्था यति जटिल बनेको छ कि बजार क्षेत्रमा करिब हरेक घर–घरमै कन्सल्टेन्सी भेटिन थालेका छन् । तर नियमन र जवाफदेहिताको अभावले विद्यार्थीहरू मात्र मारमा परिरहेका छन् ।

अधिकांश कन्सल्टेन्सी बिना दर्ता सञ्चालन भइरहेको भेटिएको छ भने कतिपयले कर नतिरी वा आंशिक कर तिरेर व्यवसाय अघि बढाइरहेका छन् । धेरैजसो संस्थाले कम्पनी दर्ता र आन्तरिक राजस्व कार्यालय (IRD) सम्म मात्र प्रक्रिया पुर्‍याएका छन्, तर शिक्षा मन्त्रालय वा प्रदेशस्तरीय निकायमा दर्ता गर्ने–नगर्ने विषय अझै अन्योलमै छ ।

विद्यार्थीले बुझाउने शुल्कमा कुनै स्पष्ट मापदण्ड छैन । “मन लागे जति असुल्ने” प्रवृत्तिले धेरै विद्यार्थी आर्थिक रूपमा मारमा परेका छन् । थप समस्या भिसा अस्वीकृति (Visa Rejection) मा देखिएको छ, जसले गर्दा विद्यार्थीको समय र पैसामा दोहोरो घाटा भइरहेको छ ।

कानूनअनुसार शिक्षा परामर्श संस्थाले रोजगारसम्बन्धी प्रक्रिया गर्न नपाउने भए पनि कोहलपुरका केही कन्सल्टेन्सीहरूले रोजगारीसम्बन्धी काम समेत गर्दै आएको भेटिएको छ । त्यसमाथि, कन्सल्टेन्सीमा अध्यापन गर्ने प्रशिक्षक (Instructor) मध्ये धेरैजसोले स्नातक तहसम्म पनि अध्ययन नगरेको पाइएको छ ।

स्थानीय निकाय र सरोकारवाला निकायले भने यस विषयमा चासो देखाएका छैनन् । नगरपालिकाले व्यवसाय दर्ता अनिवार्य गरे पनि धेरै कन्सल्टेन्सीले दर्ता गरेका छैनन् । नगर शिक्षा शाखाले “यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन” भनेर पन्छिने गरेको छ भने जिल्ला प्रशासन कार्यालय यस विषयमा मौन बसिरहेको आरोप छ ।

शिक्षाविद्हरू भन्छन् – “कन्सल्टेन्सी र निजी विद्यालय मात्र थुपारेर कोहलपुर शैक्षिक केन्द्र बन्न सक्दैन । पारदर्शी शुल्क, गुणस्तरीय मार्गदर्शन, दक्ष प्रशिक्षक र सशक्त नियमनबिना यहाँको शिक्षा व्यवसाय अराजक बन्ने खतरा छ ।”

यसैबीच, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले २०८२ भाद्र ५, बिहीबार जिल्ला प्रशासन कार्यालय बाँके लाई ८ बुँदे मागपत्र बुझाएको थियो । अनियमित ढंगले सञ्चालन भइरहेका कन्सल्टेन्सीलाई तत्काल बन्द गरी कानुनी कारबाही गर्न उनीहरूले माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech