गुल्मी, भदौ १७ – गुल्मीको मदाने ६, कंकेदेउरालीबाट पृथ्वी मावि, पुर्कोट जान लागेको विद्यार्थी समूहमा अपहरणको हल्ला फैलिएको थियो। विद्यालय जाँदै गरेका आठ विद्यार्थीलाई चार जना अपरिचितले डर देखाएको भन्दै भाग्ने हल्ला फैलियो।


कक्षा ७ का दीपक थापा भने नजिकैको मन्दिरमा लुकेका थिए। तर, उनको अपहरण भएको भनेर स्थानीय प्रहरी र प्रशासन लामो समयसम्म खोजीमा लाग्नुपर्यो। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, “सानो गलत सूचनाले प्रशासन, अभिभावक र विद्यार्थीमा अनावश्यक त्रास फैलियो। ती विद्यार्थी नजिकैको मन्दिरमा लुकेका रहेछन्।”
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले जानकारी दिए, “विद्यार्थीहरूले स्कुल जान ढिला भएकाले अपहरणको नाटक रचेर सबैलाई गुमराहमा पारेका थिए। यस्तो संवेदनशील विषयमा गलत सूचना फैलिएपछि प्रशासन पनि तुरुन्त घटनास्थलमा पुगेको थियो।”
विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले भने, “विद्यार्थी अपहरणको सूचना बाहिर आएपछि सबै शिक्षक, अभिभावक र स्थानीय तह खोजीमा लागे। तर घटनाको सत्यता पत्ता लगाउँदा यो नाटक मात्र भएको देखियो।”
विद्यार्थी आयुस्मा ताम्रकारले स्थानीय पत्रकारसँग रुदै भनेकी थिइन्, “चार जनाको समूहमा रहेकाहरुले साथीलाई लैजान खोजेका थिए भनेर मैले हल्ला फैलाएँ। तर सबै कुरा नाटक मात्र थियो।”
मदाने ६ का वडाध्यक्ष मनिराम थापाले पनि विद्यार्थीहरूले गृहकार्य नगरेको र आफैँले हल्ला फैलाएर समस्या सिर्जना गरेको बताए।





