बाँके, कोहलपुर – कोहलपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले विशेष खोजतलास गर्दै उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, २०८२ भदौ १३ गते दिउँसो करिब २:५६ बजे कोहलपुर नगरपालिका–११ मा पार्किङ गरी राखिएको भे ११ प ९६७८ नम्बरको बजाज पल्सर मोटरसाइकल चोरी भएको थियो।


घटनापछि प्रहरीले खोजतलास गर्ने क्रममा भदौ १६ गते कोहलपुर नगरपालिका–११ बाट आजाद अन्सारी र सञ्जीव कुमार यादवलाई पक्राउ गरेको जनाएको छ। प्रारम्भिक सोधपुछमा अन्सारीले मोटरसाइकललाई रु. ३,००० मा सहिद अहमद सिद्धिकीलाई बिक्री गरेको बताएका थिए।
त्यसपछि प्रहरीले भदौ १७ गते नेपालगञ्ज उपमहानगरपालिका–८ बाट सिद्धिकीलाई नियन्त्रणमा लिएको हो। सोही दिन दिउँसो करिब ३ बजे उपमहानगरपालिका–१८ भुजइगाउँस्थित समिम अहमदको ‘शाहजी मोटरसाइकल ग्यारेज’ नजिकैबाट चोरीको मोटरसाइकल समेत फेला पारेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको छ।






