काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले बिहीबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।


बिहान साढे ९ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेपछि खापुङले प्रहरी प्रधान कार्यालय, नक्सालमा जिम्मेवारी ग्रहण गरेका हुन्।
सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत वरीयतामा पहिलो स्थानमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
पूर्व आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा गर्दै अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा खापुङलाई जिम्मेवारी तोकिएको हो। तर, सेवा अवधि अनुसार महानिरीक्षक खापुङ पनि अढाई महिनाभित्र अनिवार्य अवकाश हुनेछन्।






