बाँके — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा रामप्रसाद धमलालाई घुससहित रंगेहात पक्राउ गरेको छ।


फैसलाको प्रतिलिपि उपलब्ध गराउने प्रयोजनमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार धमलाले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएका हुन्।
आयोगको बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा, सेवाग्राहीसँग रकम लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उल्लेख छ।






