नेपालगन्ज ।
कर्तव्य पालनका क्रममा नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।


जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सई थापा शनिबार बिहान नेपालगन्ज बजार क्षेत्रमा ड्युटीमा खटिएका थिए। ड्युटीकै क्रममा अचानक हृदयघात भई ढलेका उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिलनसार र कर्तव्यनिष्ठ थापा संगठनमा सक्रिय प्रहरीकर्मीको रुपमा परिचित थिए। रोल्पा स्थायी घर भएका थापा लामो समयदेखि प्रहरी सेवामा रहेर जनताको सुरक्षा र शान्ति–सुरक्षामा समर्पित भएर काम गर्दै आएका थिए।
प्रहरी संगठनले थापाको असामयिक निधनले ठूलो क्षति पुगेको बताएको छ।





