कोहलपुर बाँके – बाँके जिल्लाको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित शिव मन्दिर नजिक प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।


लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा शुक्रबार साँझ करिब ५:४० बजे ४३ वर्षीय नइम खाँलाई पक्राउ गरेको हो। खाँ बाँकेको जानकी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन्।
प्रहरीले नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ३५३५ नम्बरको १५० सिसी मोटरसाइकल रोकि जाँच गर्ने क्रममा खाँले लगाएको पाइन्टभित्र सेतो प्लास्टिकमा बेरिएको अवस्थामा लागूपदार्थ बरामद गरेको जनाएको छ।
बरामद सामग्रीको तौल गर्दा प्लास्टिकसहित ३५.०३० ग्राम र शुद्ध ३३.९१० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका खाँलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।





