काठमाडौं, २०८२ भदौ २६।
नेपाल पत्रकार महासंघले मुलुक अहिले कठिन र निर्णायक मोडमा रहेको भन्दै सबै सरोकारवाला पक्षलाई संयमित र संवेदनशील भएर जिम्मेवार बन्न अपिल गरेको छ।



महासंघका अध्यक्ष निर्मला शर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको महासंघले हाल जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक हेरिरहेको उल्लेख छ।
सरकार राजीनामा गरिसकेको र नयाँ सरकार गठन हुन नसकेको अवस्थालाई संक्रमणकालीन समयका रूपमा व्याख्या गर्दै महासंघले “यसलाई छिटोभन्दा छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ” भनेको छ।
२३ जनाको ज्यान, पत्रकार र मिडियामाथि आक्रमण
सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा अहिलेसम्म २३ जनाले ज्यान गुमाएको र बालबालिकासहित कैयौं घाइते भएको तथ्य सार्वजनिक गर्दै महासंघले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ।
महासंघका अनुसार आन्दोलनकै क्रममा ४ जना पत्रकार गोली लागेर घाइते भएका छन् भने विभिन्न मिडिया हाउस जलाइएका वा आक्रमणमा परेका छन्।
“जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेको प्रेसलाई निसाना बनाइनु दुःखद र आपत्तिजनक छ,” विज्ञप्तिमा भनिएको छ। राज्यले पत्रकार र मिडिया हाउसलाई क्षतिपूर्ति दिनुपर्ने पनि महासंघको माग छ।
राष्ट्रपति सक्रिय हुनुपर्ने जोड
राजनीतिक गतिरोध समाधानका लागि संवैधानिक निकायमार्फत निकास खोज्नुपर्ने बताउँदै महासंघले राष्ट्रपतिलाई चाँडो पहल गर्न आग्रह गरेको छ।
“सरकार गठनलगायतका राजनीतिक प्रयास राष्ट्रपति कार्यालयमार्फत हुनुपर्छ, जंगी अड्डाबाट होइन,” महासंघले स्पष्ट गरेको छ। तर शान्ति–सुरक्षामा सेनाले खेलेको भूमिका भने सराहनीय भएको उल्लेख छ।
आन्दोलन र क्षतिप्रति महासंघको भनाइ
महासंघले आन्दोलनलाई लोकतान्त्रिक अभ्यासका रूपमा मूल्यांकन गरे पनि सरकारी, सार्वजनिक र निजी संरचनामा भएको तोडफोडप्रति दुःख व्यक्त गरेको छ। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका संरचना र सञ्चार संस्थामा भएको क्षतिले देशले दीर्घकालसम्म असर बेहोर्नुपर्ने चेतावनी दिएको छ।
“संरचनात्मक सुधार जरुरी”
जेनजी पुस्ताले उठाएको सुशासन र संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउनुपर्ने महासंघको निष्कर्ष छ।
अन्त्यमा महासंघले भनेको छ – “संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकारवाला पक्षलाई अपिल गर्दछौँ।”





