काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यानको मुद्दा दर्ता भएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दर्ता गरेका हुन्।


शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको जाहेरीपत्रमा ओलीको प्रत्यक्ष आदेशका कारण सुरक्षाकर्मीले गोली चलाउँदा निर्दोष नागरिकले ज्यान गुमाएको दाबी गरेका छन्। “प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको गोलीकाण्डमा नागरिकको रगत बगेको छ, त्यसको जवाफदेही उनी स्वयं लिनुपर्छ,” शाहको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख तामाङले उजुरी पत्र दर्ता भइसकेको र आवश्यक प्रक्रिया अनुसार सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।
‘जेनजी’ आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भएको छ। यही घटनाक्रमका कारण ओलीमाथि चौतर्फी दबाब बढेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।





