काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत खुला पत्र सार्वजनिक गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।


प्रधानमन्त्री नियुक्त भएलगत्तै आफूले फोनमार्फत बधाई र सुझाव दिन खोजेपनि सम्पर्क हुन नसकेको र प्रधानमन्त्रीसँग नजिक रहेका व्यक्तिहरूमार्फत पनि प्रयास असफल भएपछि अन्ततः सामाजिक सञ्जालमार्फत खुला सन्देश दिन बाध्य भएको उनले उल्लेख गरेका छन् ।
श्रेष्ठले पत्रमार्फत प्रधानमन्त्रीलाई सरकार गठनको प्रक्रियामा राजनीतिक दलका सीमित दायराभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, स्वच्छ र क्षमतावान व्यक्तिलाई मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पूर्णता दिलाउन सुझाव दिएका छन् । साथै उनले मुलुकमा शान्ति–सुरक्षा कायम गर्दै घोषित मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारलाई जोड दिए ।
उनले भाद्र २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, ध्वंस भएका संरचनाको पुनर्निर्माण तत्काल सुरु गर्नुपर्ने र भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै सुशासनलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा नभएको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरेका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीलाई लोकरिझ्याईका छिटफुट कार्यमा समय खेर नफाली मुलुकको स्थायित्व र लोकतन्त्रको हितमा निर्वाचन तयारीमा केन्द्रित रहन आग्रह गर्दै चेतावनीस्वरूप भनेका छन्, “यदि सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न असफल भयो भने देश भयावह संकटमा धकेलिनेछ । यसप्रति सबैले सचेत रहँदै सरकारलाई सहयोग गर्नु जरुरी छ ।”





