दाङ — दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा करिब चार अर्ब रुपैयाँ लागतमा सञ्जीवनी शिक्षण अस्पताल निर्माण सम्पन्न भएको छ। सोमबार विशेष समारोहबीच तीन सय बेड क्षमताको यो अस्पताल उद्घाटन गरिएको हो। अस्पतालले भने असोज अन्तिम सातादेखि नियमित स्वास्थ्य सेवा सुरु गर्ने जनाएको छ।


करिब पाँच बिघा क्षेत्रफलमा सन् २०७८ देखि निर्माणकार्य थालिएको अस्पताल अब दाङकै सबैभन्दा ठूलो निजी स्वास्थ्य संस्था बन्नेछ। उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपक रोकाले तत्काल तीन सय बेडबाट सेवा प्रारम्भ गर्ने र आगामी तीन वर्षपछि शैक्षिक कार्यक्रम पनि सुरु गर्ने योजना रहेको जानकारी दिए।
“हाल हामी स्वास्थ्य सेवा दिन केन्द्रित हुन्छौं,” उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालन गर्न कानुनी प्रक्रिया अनुसार तीन वर्ष पर्खनुपर्छ, त्यसपछि मेडिकल अध्ययन सुरु गर्नेछौं।”
स्वास्थ्य मन्त्रालयको स्वीकृति, उपकरण खरिद पूरा
अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने वातावरणीय तथा सामाजिक स्वीकृति, स्वास्थ्य सेवा विभागको प्रारम्भिक स्वीकृतिपत्रलगायत सबै कागजातको प्रक्रिया पूरा भएको र स्वास्थ्य मन्त्रालयबाट आशयपत्र (LOI) समेत प्राप्त भइसकेको रोकाले जानकारी दिए। उनका अनुसार, उपकरण खरिदका लागि अनुमति पनि लिइसकिएको छ।
हाल अस्पताल तीन सय बेडसहित सञ्चालन हुने भए पनि अनुमतिपत्र पाँच सय बेडको लागि प्राप्त भइसकेको छ। रोकाका अनुसार, अस्पतालले विशेषज्ञ सेवासहित मुटु रोग, मस्तिष्क, छाती, मिर्गौला, पाचन प्रणाली, स्त्री तथा प्रसूति, बालरोग, मानसिक रोग, छाला तथा यौन रोग लगायतका सेवा प्रदान गर्नेछ।
“दाङमा धेरै बिरामी उपचारका लागि काठमाडौँ, नेपालगन्ज वा भारत जानुपर्ने अवस्था थियो,” उनले भने, “अब हाम्रो सेवा सुरु भएपछि बिरामी बाहिर रेफर गर्नुपर्ने आवश्यकता घट्नेछ।”
पहिलोपटक निजीस्तरबाट ३०० बेड अस्पताल
दाङ जिल्लामा निजीस्तरबाट पहिलोपटक तीन सय बेड क्षमताको अस्पताल सञ्चालन हुन लागेको हो। अस्पतालका अध्यक्ष खुमप्रसाद अर्याल यसअघि नेपालगन्ज मेडिकल कलेज कोहलपुर, गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाका सञ्चालकसमेत रहेका छन्।
उद्घाटनसँगै स्वास्थ्य शिविर
अस्पतालको औपचारिक उद्घाटनसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो। शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मानसिक रोग, स्त्री तथा प्रसूति, बालरोग तथा शिशु, छाला तथा यौन रोग, फार्मेसी, जनरल सर्जरी, अल्ट्रासाउन्ड, प्रयोगशाला सेवाका विशेषज्ञ चिकित्सकहरूले ९५७ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।
सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आएपछि दाङ र आसपासका जिल्लाका नागरिकले आफ्नै क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।






