काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा आर्थिक लेनदेन र बिचौलियाको सक्रियताबारे गुनासो बढेपछि परराष्ट्र मन्त्रालयले विभागको गतिविधिमा निगरानी राख्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।


परराष्ट्रले गृह मन्त्रालयलाई पठाएको पत्रमा नेपाल प्रहरीलगायत सम्बन्धित निकायमार्फत गोप्य निगरानी र आवश्यक परे छापा मार्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
पत्रमा भनिएको छ, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउनुका साथै आवश्यकताअनुसार छापासमेत मारी यस प्रकारका अनुचित कार्यलाई निरुत्साहित गर्दै राहदानी वितरणसम्बन्धी सेवा प्रवाहलाई थप सरल, सहज र विश्वसनीय बनाउने कार्यमा आवश्यक सहयोग पुर्याउने व्यवस्था गर्न निर्णय भएको छ।”
हालैका दिनमा राहदानी विभागमा सेवा लिन आउने नागरिकले बिचौलियाहरुको गतिविधि बढेको र आर्थिक लेनदेन समेत हुने गरेको गुनासो परराष्ट्र मन्त्रालयमा पुगेको थियो। बिचौलियाहरूले “भित्री कर्मचारीसँग चिनजान छ” भन्दै छिटो राहदानी बनाइदिने भन्दै पैसा असुल्ने गरेका छन् भन्ने उजुरीहरू आएको स्रोतले बताएको छ।
यसै पृष्ठभूमिमा परराष्ट्र मन्त्रालयले गृहलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिँदै सेवा प्रवाहलाई पारदर्शी, सहज र विश्वसनीय बनाउन पहल थालेको जनाएको छ।





