काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरूलाई बाहिरी भेटघाटमा कडाई गरेको छ। बिहीबार सबै इकाइहरूमा परिपत्र जारी गर्दै कुनै पनि भेटघाट गर्नु अघि अनिवार्य रूपमा स्वीकृति लिन निर्देशन दिइएको छ।


सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार अब कुनै पनि दर्जाका कर्मचारीहरूले सांगठनिक वा व्यक्तिगत कामका सिलसिलामा उच्च पदस्थ व्यक्तित्व, राजनैतिक दलका नेता तथा पदाधिकारी, वा अन्य विशिष्ट व्यक्तिसँग बिनाअनुमति भेटघाट गर्न नपाउनेछन्।
उनका अनुसार कुुटनैतिक नियोग, राजनैतिक नेतृत्व तथा सामाजिक अभियन्तासँग भेटघाट गर्दा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।
अवैध भेटघाट वा गोप्य सूचना चुहावटजस्ता गतिविधिमा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिइएको छ। संगठनको हित विपरीत सूचना वा विचार सार्वजनिक गर्ने, व्यक्तिगत लाभका लागि भेटघाट गर्ने, वा सञ्चारमाध्यममार्फत संगठनको गोप्य विवरण बाहिर ल्याउने कार्यलाई अनुशासनहीनता मानिने सशस्त्र प्रहरीको भनाइ छ।
राज्यप्रदत्त जिम्मेवारी — आतंकवाद नियन्त्रण, दंगा नियन्त्रण, विपद् व्यवस्थापन, सीमा सुरक्षा लगायत — प्रभावकारी रूपमा पूरा गर्न सशस्त्र प्रहरीलाई स्मरण गराइएको छ।
संगठनका अनुसार, अनाधिकृत भेटघाटले संस्थागत मर्यादामा खलल पुर्याउने र राष्ट्रिय सुरक्षा तथा अखण्डतामा असर पार्ने भएकाले यस्ता गतिविधि पूर्ण रूपमा निरुत्साहित गरिनेछ।
यदि सांगठनिक आवश्यकता अनुसार सूचना आदान–प्रदान गर्नुपर्ने भएमा स्थायी आदेशमा उल्लेखित अनुसूचीअनुसार फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृति लिन सकिनेछ।
सशस्त्र प्रहरीले कर्मचारीहरूलाई “राज्यले दिएको सम्मान र जिम्मेवारीको कदर गर्दै अनुशासन, मर्यादा र बफादारिताको उच्च स्तर कायम राख्न” पनि निर्देशन दिएको छ।
त्यस्तै, राजश्व चुहावट वा अवैध गतिविधिमा संलग्न कसैको जानकारी भएमा तत्काल सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरिएको छ।





