ट्रेण्डिङ

 

नेपालगञ्ज, बाँके ।
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको छ। ‘एडभोकेसी फोरम नेपाल’, ‘इन्सेक’ र ‘उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेश’ले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो तथ्य बाहिर आएको हो।

अनुगमनपछि टोलीले कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

दुईगुणा भन्दा बढी कैदीबन्दी

कारागारको क्षमता ३५० जना मात्र रहेकामा हाल ८०० जना कैदीबन्दी तथा थुनुवा राखिएका छन्। कारागार प्रशासनका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबार, जबरजस्ती करणी र कर्तव्यज्यान मुद्दाका रहेका छन्।

जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दी गृह नभएकाले बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार हाल अस्थायी रूपमा एक महिला कैदीबन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै भवनको अभाव छ।

जेनजी प्रदर्शनपछि गोली प्रहार

हालैको जेनजी प्रदर्शनका क्रममा केही कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाएको घटनामा कैलालीका २४ वर्षीय उमेश बम खुट्टामा गोली लागेर घाइते भएका थिए। ढुङ्गानाका अनुसार उपचारपछि उनको अवस्था सामान्य भइसकेको र उनी पुनः कारागार फर्किएका छन्।

सरसफाई र स्वास्थ्यमा समस्या

अनुगमन टोलीका अनुसार कारागारमा बसोबास, स्वास्थ्य र सरसफाईमा गम्भीर समस्या देखिएको छ। पिउने पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था भए पनि सुविधा सीमित छ। ए ब्लक र बी ब्लकमा गरी जम्मा ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्।

कैदीबन्दीका लागि विद्यालय पनि सञ्चालनमा

कारागारभित्रै प्राथमिक तहको विद्यालय सञ्चालनमा रहेको छ। कक्षा १ देखि ५ सम्म ९८ जना कैदीबन्दीले अध्ययन गरिरहेका छन्।

प्रशासनिक भवन जीर्ण, उजुरी सम्बोधनमा ढिलाइ

जेल प्रशासनको भवन जीर्ण अवस्थामा रहेकाले कर्मचारीले असुरक्षित महसुस गर्दै बाहिरबाटै काम गर्नुपर्ने अवस्था आएको छ। साथै, अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाइ हुने र कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुने समस्या रहेको अनुगमन टोलीले जनाएको छ।

एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतमले कारागारको अवस्थाले मानवअधिकार र न्यूनतम जीवनस्तर दुवैमा प्रश्न उठाएको बताउँदै तत्काल सुधारका लागि सरकारलाई आग्रह गरे।

अनुगमन टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरीलगायत सहभागी थिए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech