कोहलपुरमा प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको जीवन, साहित्यिक योगदान र राजनीतिक यात्राबारे विशेष विमर्श सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। रेग्मीले इच्छुकलाई सच्चा कम्युनिस्ट र जनयुद्धकालमा भेटिएका असल मान्छेको रूपमा स्मरण गरे।


राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले इच्छुकका विचार, साहित्य र व्यवहार आपसमा पूर्ण रूपमा मिल्ने बताए। डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक साधना तथा चिन्तनका विभिन्न पक्ष प्रस्तुत गरे।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भागवत खनाल, दानबहादुर हमाललगायतले शुभकामना व्यक्त गरे। साथै लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाही सहितका कविहरूले इच्छुकलाई समर्पित रचना वाचन गरे।
महाकवि देवकोटा र इच्छुकसहितका अमर सर्जकहरूको सम्झनामा मौनधारण गरिएको कार्यक्रममा काठमाडौँ, प्युठान, बाँके, दाङ, बर्दियाका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षता र सचिव केशव निमेषको सहजीकरणमा सम्पन्न भयो।





