रुपन्देही — लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ७३ वर्षीया खेमकुमारी मल्लको मृत्यु भइसकेपछि पनि उनको नाममा औषधि र खाना मागिएको घटना सार्वजनिक भएको छ। नाम नफेरिएको सूचना बोर्डका कारण स्वास्थ्यकर्मीले मृत बिरामीकै नाममा औषधि तथा खाना बोलाएको खुला भएको हो।


आफन्त र बुटवल–११ का वडा सदस्य नकुल शाहीले आईसीयूभित्रै प्रवेश गरी भिडियो सार्वजनिक गरेपछि घटना बाहिरिएको हो। २५ नं. बेडमा नयाँ बिरामी राखिँदा खेमकुमारीलाई ९ नं. बेडमा सारिएको तर बाहिरी बोर्डमा नाम परिवर्तन नगरिएको अस्पताल स्रोतले जनाएको छ।
आफन्तले गम्भीर बिरामीले अचानक खाने अवस्था आएको बताइएपछि शंका लागेको र भित्र गएर हेर्दा त्रुटि देखिएको उनीहरूको आरोप छ। मृत्युपश्चात पनि करिब १० हजार रुपैयाँ बराबरको औषधि मागिएको बताइएको छ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले छानबिन समिति गठन गरिने र कमजोरी भेटिए कारबाही हुने बताएका छन्। अस्पतालका मेसु इन्द्र ढकालले घटना बारे औपचारिक टिप्पणी गरेका छैनन्।
श्रोत-नेपाल प्रेस





